अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सको निवेदन

सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र कम्पनीको प्रस्ताव परेको छ ।

आन्तरिक उडानको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान इजाजतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको हो । यतीले आफ्नो भगिनी संस्था तारा एयरमार्फत अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि मुलुकमा सञ्चालनरत आवश्यक मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको थियो ।

यती एयरलाइन्सले यसअघि पनि अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) लिएको थियो । विसं २०६३ मा ‘यति इन्टरनेशनल’ नाममा इजाजत लिएको यति एयरलाइन्सले चीनसँगको सहकार्यमा अहिलेको अवस्थामा हिमालय एयरलाइन्स नाममा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको जनाइएको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि मात्रै इजाजतका लागि निवेदन दिएको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताउनुभयो । मन्त्रालयको हवाई महाशाखाका अनुसार यतीले ‘सेडुअल’ उडानका लागि नभई चार्टर्ड उडानका लागि मात्रै इजाजत मागेको छ । इजाजतका लागि प्राप्त कागजातको अध्ययन गरी निर्णय गर्न मन्त्रालयको हवाई महाशाखा प्रमुखसमेत रहनुभएका सहसचिव आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।