काठमाडौंमा यसरी सतर्कतासहित चल्दैछन् बिजुली बस
सोमबारबाट मयूर, संयक्त, महानगर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थाले । यातायात व्यवसायी कम्पनीका दुई छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि अब कम्पनीहरुले निर्णय अवज्ञा गर्न थालेका छन् ।
सरकारले काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।
बस नचलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघको निर्णय अवज्ञा गर्ने क्रम मंगलबारबाट झनै बाक्लिएको छ । विभिन्न यातायात कम्पनीले अब सरकारको निर्णयअनुसार नै बस चलाउन थालेका हुन् ।
तर, अझै पनि बहुसंख्यक बस कम्पनी भने आफ्ना छाता संगठको निर्णय मान्ने पक्षमा छन् । विभिन्न माग राख्दै सार्वजनिक सवारी नचलाउने निर्णय गरेका महासंघअन्तरगत रहेका कम्पनीहरुले बस निकाल्न सकेका छैनन् ।
तर, विगतमा पनि सिन्डिकेटको विपक्षमा उभिएका केही कम्पनीहरुले सेवा दिन थालेपछि यात्रुलाई राहत महसुस भएको छ । उनीहरुले सरकारी मापदण्डको पालना गरेर बस चलाइएको बताएका छन् ।